धादिङ । स्तरन्नोत्तीको क्रममा रहेको त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका सडकहरूमा अझै सहजै रूपमा यातायात सञ्चालन हुन सकेका छैनन् । निर्माण कम्पनीले सडक स्तरोन्नतिका काममा ढिलाइ गरेका कारण यस्तो अवस्था सृजना भएको हो । जसले गर्दा सडक निर्माण कार्य कछुवा चालमा रहेको छ भने सो सडक भएर यात्रा गर्नेहरूले निकै सास्ती खेप्नु परिरहेको छ ।
गत असोज १२मा परेको अविरल वर्षासंगैको पहिरोका कारण सडक भत्किएको र बिग्रिएको कारण सो सडक भएर यात्रा गर्नेहरूले निकै सास्ती खेप्नु परिरहेको छ ।
पर्वहरूका बेला सवारीका साधनहरूको चाप अत्याधीक भएकोले यात्रुहरूको चापलाई मध्य नजर राख्दै सवारी सुचारुका लागी केही मर्मत गरेको भए पनि अहिले पुनः सडक बिग्रिएको छ ।
सडकमा अत्यधिक खाल्टा खुल्टि भएका कारण सवारीका साधनहरू बिग्रिने मात्रै होइन दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको सवारी चालकहरूको भनाइ छ ।
सवारी जाम लाग्ने त पृथ्वी राजमार्गमा सामान्य जस्तै भई सकेको छ , जसले गर्दा ट्राफिक प्रहरीलाई समेत सवारी व्यवस्थापनका गर्न अफ्ढ्यारो परेको छ।
सडकमा अत्यधिक खाल्टा खुल्टि भएका कारण सानो र दुई पाङ्ग्रे सवारीलाई त राजमार्गको यात्रा निकै कष्टप्रद बनेको छ ।
सङ्घीय राजधानी प्रवेश गर्ने प्रमुख लाइफ लाइनको रूपमा मानिने पृथ्वी राजमार्गको यात्रा अहिले चितवनको मुग्लीनदेखी राजधानीको प्रवेशद्वार नाग ढुङ्गासम्मै निकै जोखिम पूर्ण र कष्टप्रद बनेको छ ।
सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा यस्तो अवस्था आएको हो ।
जथाभाबी खनेर त्यतिकै छाडेका सडकका कारण राजमार्गको यात्राका क्रममा घाम लाग्दा उड्ने धुलो र सामान्य पानी पर्दा हुने हिलोले त सवारी चालकहरूलाई सवारी हाँक्न झनै समस्या हुने गरेको छ ।
दैनिक पन्ध्र हजार देखी सत्र हजारसम्म सवारीका साधनहरू यही राजमार्ग भएर सङ्घीय राजधानी काठामाण्डौँबाट बाहिरिने र राजधानी भित्रने गर्दछन् । आजकाल त यो दर झनै बढेको प्रहरीको भनाइ छ ।