७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

जागरसभामा एमाले महासचिव पोखरेलले भने – एमाले समाप्त पार्ने प्रपञ्च हुँदैछ



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल बनाउने उद्देश्यले भ्रमको शृंखला अघि बढाइएको बताएका छन् । शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले ओलीकै नेतृत्वमा मुलुकको समस्या समाधान गर्ने बताए ।

“देश बनाउने पार्टी एमाले हो । नेपालको विकास ओली नेतृत्वको सरकारले नै गर्छ,” उनले भने । उनले एमालेलाई समाप्त पार्न प्रपञ्च भइरहेको पनि बताए । उनले देश श्रीलंका र बंगलादेशजस्तो बन्ने अवस्थामा नभएको दाबी गरे ।

“सुनिन्छ, नेपाललाई श्रीलंका बनाइदिने, बंगलादेश बनाइदिने भन्न थालिएको छ । नेपालको परिस्थिति न श्रीलंकाको हो न बंगलादेशको,” उनले भने ।

उनले देश बनाउन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व चाहिने बताए । राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको भनाइ उनको छ । “अहिलेसम्म राजनीतिक स्थायित्वको आधार बनाउन सकेका छैनौँ । एमालेले संकल्प गरेको छ, अब मुलुकलाई निर्णायक राष्टिय शक्तिको खाँचो छ,” उनले भने ।

पोखरेले एमालेसँग मात्रै दूरदर्शी नेतृत्व रहेको जिकिर गरे । मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्ने गरेको दाबी गरे ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : ०७ बजे