काठमाडौं । नेकपा माओवादी( केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको नेतृत्व गर्न नेपाली कांग्रेससँग पहल गरेको कुरा झुटो भएको दाबी गरेका छन् ।
शनिबार एक कार्यक्रममा उनले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नभएको दाबी गरेका हुन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रूपमा कुरा नभएको उनले दाबी गरे । त्यस्तै उनले माओवादीलाई सत्ताबाहिर बसेर जनताको बीचमा जादाँ सहज भएको दाबी गरे ।
बिहिबार कीर्तिपुर उपनिर्वाचनको चुनावी सभामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अध्यक्ष प्रचण्डले हप्ताको दुईतीनपटक नेपाली कांग्रेससँग प्रधानमन्त्री बन्न आग्रह गरेको बताएका थिए ।
२०८४ सम्मकै सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताए । उनले महामन्त्री थापालाई आफूले युवा नेताको रूपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको बताए ।
जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको र आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिए ।