काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल अघि बढाएको छ ।
समितिले आज सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन कर्ता सांसद र विज्ञहरुसँग छलफल गरेको हो ।
छलफलमा सांसदहरूले सुरक्षित कारोबार ऐनलाई कार्यान्वयन योग्य बनाउनु पर्नेमा जोड दिँदै विषय अनुसार सरल र सबैले बुझ्ने भाषामा ऐनको नाम परिवर्तन गर्न सुझाव दिए ।
चल सम्पत्तिको कारोबार सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयक भएकाले सोही विषयलाई स्पष्ट गर्ने गरी नाम राख्नुपर्ने, चल सम्पत्ति धितो राखेर ऋण लिने विषय भएकाले यसको कारोबार सुरक्षित बनाउने विषयमा ध्यान दिनु पर्नेमा सांसदहरुले जोड दिए ।
चल सम्पत्ति धितो राख्ने विषयमा स्थानीय तहमा दर्ता गर्ने व्यवस्था गर्नु पर्ने, ऋण लिने, दिने र कारोबार गर्ने सबैको सुरक्षाका लागि सरकारले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने, शैक्षिक प्रमाण पत्र र सिप प्रमाणपत्रलाई समेत धितो राख्ने व्यवस्था गर्नुपर्ने लगायतका विषय सांसदहरुले उठाए ।
छलफलमा विज्ञहरुले चल सम्पत्ति धितो राखी ऋण लिने भन्ने विषय स्पष्ट गर्न सके कानुन कार्यान्वयनमा आउने, सुरक्षित कारोबारको भाषा बुझिने बनाउनु पर्ने, सुरक्षित वित्तीय कारोबारमा ध्यान दिनुपर्ने, अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याइने हुँदा यसलाई वैज्ञानिक बनाइनु पर्ने सुझाव दिए ।