७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात



काठमाडौं । चालु आर्थिक वर्ष ९आव० २०८१र८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँको विद्युत् भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको साउन, भदौ असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो ।

चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा हुने गरेको छ । प्राधिकरणले विद्युत् बिक्री गरी आठ अर्ब १५ करोड भारु आम्दानी गरेको छ ।

साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोडको विद्युत् निर्यात गरिएको थियो । मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र विद्युत् निर्यात गरिएको छ । भदौमा तीन अर्ब ६८ करोड, असोजमा तीन अर्ब सात करोड र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिरोका कारण मुख्य रूपमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रमा क्षति पुगेको बताए । त्यसले विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको उनले जानकारी दिए ।

माथिल्लो तामाकोसी बन्द भएका कारण त्यसपछिका महिनामा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन कम भएकाले पोहोरभन्दा यो वर्ष चाँडै आयात गर्नुपरेको उनले उल्लेख गरे ।

अहिले विद्युत् निर्यात बन्द गरिएको छ । विद्युत् आयात सुरु गरिएको छ । हिउँदयाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्दा जलविद्युत् आयोजनाको उत्पादनमा कमी आउँछ । त्यसैले देशभित्रको विद्युत् माग धान्न हिउँदका केही महिनामा विद्युत् आयात गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन वृद्धि हुनेछ । त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यो वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बंगलादेश निर्यात पनि सुरु भइसकेको छ ।

चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारणलाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको प्राधिकरणले जनाएको छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । सोही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ३ : ५२ बजे