११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

कास्की अदालतमा रविको बयान सकिएपछि थुनछेक बहस हुने



लेखनाथ । जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जारी छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएपछि सोमबारबाट बयान सुरु भएको थियो । यसअघि गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र लीला पछाईको बयान भइसकेको छ ।

जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बयान सुरु भएको जानकारी दिए । “लीला पछाईको बयान सकिएर अहिले रावि लामिछानेको बयान जारी छ ।” अहिले हिरासतमा रहेका सात जनाको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ व्यक्ति, आठ कम्पनी र जफत प्रयोजनका लागि पाँच व्यक्ति गरी ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित पूर्वउपाध्यक्ष छविलाल जोशी, कर्मचारी लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ र आरती गुरुङ अहिले कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ ।

सूर्यदर्शन सहकारीमा पूरक र थप सबै गरी ६३ जना प्रतिवादी कायम भएका छन् । सम्पत्ति शुद्धिकरणमा लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपियाँको मागदाबी लिइएको छ । अभियोगपत्रमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार एक सय ९४ रुपियाँ बिगो मागदाबी लिइएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ४० बजे