१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

दुईतिहाइको सरकार हुँदा पनि तीनकुनेको मुआब्जा प्रक्रिया अघि बढेन : बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले लामो समयदेखि रोकिएर रहेको तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिले दुईतिहाइको सरकार हुँदा पनि मुआब्जा प्रक्रिया अघि बढ्न नसकेको उनले बताए । उनले भने,
‘जग्गाधनीलाई विशेष धन्यवाद । पचासौं वर्षदेखि मुआब्जा पाउनुभएको छैन । कमजोर सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो,’ मेयर बालेनले भने, ‘यसपालि दुईतिहाइको सरकार छ त्यही पनि केही गरेकै छैन । कुनै पनि प्रोसेस भएको छैन । व्यक्तिको जग्गा लुटेर राखिएको स्थान हो यो । यहाँको मुआब्जा दिनका लागि कुनै प्रक्रिया भएको छैन् । चाँडै होस् भन्ने शुभकामना मात्रै दिनसक्छ ।’

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोतसाधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए ।

‘गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै स्रोतसाधन आफ्नै । हाम्रो त अझ वडा समिति पनि त्यही सरकारको हो,’ मेयर बालेनले भने, ‘अहिले पनि यो काम भएन भने कहिल्यै हुँदैन । आफ्नो स्थानीय सरकारलाई विस्तारै भन्नुहोला । मलाई पनि भन्नुहोला । हाम्रो त उमेरभन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको ।’

उनले पचासौँ वर्षदेखि जग्गा कब्जा हुँदा पनि सरकारबाट आश्वासनमात्रै प्राप्त भएको धारणा राखे । कुनै नेताले मुआब्जा प्रक्रिया अघि बढेको आश्वासन दिन घर–घरमा आए विश्वास नगर्न उनले स्थानीयलाई सुझाव दिए ।

प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री आफ्नै स्रोतसाधन समेत आफ्नै भएको अवस्थामा अहिले पनि मुआब्जा प्रक्रिया अघि नबढे कहिल्यै समस्या समाधान नहुने उनले बताए । शाहले कोटेश्वर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा साथ बिक्रीवितरण गर्न सुझाब दिए । कोटेश्वर महोत्सव दुई दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : ३५ बजे