२० पुस २०८१, शनिबार | Sat Jan 4 2025

मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक, आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी हुने



काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको हो ।

बैठकले जिल्ला समन्वय समिति कैलालीको नाममा दर्ता रहेको धनगढी उपमहानगरपालिका वडा नं. १ को २७१८ वर्गमिटर जग्गा स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापनाका लागि धनगढी उपमहानगरपालिका, कैलालीलाई उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यसै गरी हिल्सा(सिमिकोट सडकको सल्लिसल्ला(सिमिकोट खण्डको कडा चट्टान रहेको ८०० मिटर लम्बाईको सडक निर्माण र चुवा खोलामा बेली बृज निर्माणको कार्य नेपाली सेनाबाट गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ।

यसै गरी बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा श्री ध्रुव आचार्य, रुपन्देही, विशेष आर्थिक क्षेत्र प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा श्री छत्र बहादुर कटुवाल,बाजुरालाई नियुक्त गर्नुका साथै खानेपानी तथा सरसफाइ नियमावली, २०८१ स्वीकृत गरेको छ ।

बैठकले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्नुका साथै प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ७ : ०२ बजे