काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच बैठकस्थलमानै चर्काचर्की परेको छ ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको भन्दै सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित भएका थिए । सो क्रममा दुवैबीच भनाभन भएको हो । सांसद सुवालले आफुले बोलेको कुरा सभापतिले वेवास्ता गरेको बताएका थिए । त्यस्तै उनले सभापतिलाई सत्तापक्षको पुछर होइन समितिको नेता बन्न आग्रह गरेका थिए ।
उता सांसद सुवालले आफ्नो असहमति राख्दा सभापति यादवले अमर्यादित ढंगले नौटंकी गर्ने भन्दै सुवाललाई हप्काएका थिए । सुवालले समितिका सभापति निरंकुश ढंगले चल्न नहुने भनेपछि दुवैबीच चर्काचर्की परेको थियो ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थिति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।
यसअघि, पनि माओवादी सांसद सुदन किराती, सांसद सुवाललगायतसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो । भनाभन भएपछि सभापति बैठक स्थलबाट उठेका थिए ।