२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

न्यायाधीशसमक्ष रविले भने–  छाडिदिनुहोस्, हरेकपटक पीडितको रिपोर्ट बोकेर आउँछु



कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा जवाफी बहस सकिएको छ ।

प्रतिवादीहरूको बयान सकिएपछि बुधबार जवाफी बहस सुरु भएकोमा बिहीबार दिउँसो सकिएको हो । जवाफी बहस सकिएपछि सबै प्रतिवादीलाई न्यायाधीश नीतिज राईले आफ्ना कुरा राख्न समय दिएका थिए ।

राईको इजलासमा गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेले आफूलाई थुनाबहिरै रहेर मुद्दा लड्ने अवसर दिन आग्रह गरे । “मलाई थुना बाहिरै रहेर मुद्दा लड्ने अवसर दिइयोस्,” लामिछानेले भने, “सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न पहल गर्छु । पीडितको पक्षमा निरन्तर काम गर्छु ।

आफ्ना कुरा राख्ने क्रममा अन्य प्रतिवादीहरूले पनि सूर्यदर्शन ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका थिए । अदालतका स्रेष्तेदार राजन खनालले जवाफी बहस सकिएको र आजै आदेश आउने उल्लेख गरे ।

पुस ७ गते जिल्ला अदालत कास्कीमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । अब न्यायाधीश राईको इजलासबाट साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय हुनेछ ।

लामिछानेसहितले सूर्यदर्शनको बचत गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोग छ । लामिछाने गोरखा मिडियाको पूर्वप्रबन्ध निर्देशक र सेयर सदस्य हुनुहुन्छ । अहिले कास्की प्रहरीको हिरासतमा गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लिला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, मीना गुरुङ, आरती गुरुङ हुनुहुन्छ ।

लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत अभियोगपत्र दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा पूरक र थप गरी अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । प्रतिवादीहरूसँग एक अर्ब ५१ करोड बिगो माग गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  २ : ३६ बजे