९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन



पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो। दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो संकलन गरेर यहाँ प्रशोधन गरिने भएको छ। चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ।

चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिने भएको हो। यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ रोग लगायतका औषधि बनाइने बताइएको छ। चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्दछ। यसका लागि कम्पनीले प्रतिकिलो २० का दरले मूल्य निर्धाणरण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी आठका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ। प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि ल्याउन सकिने उद्योगले जनाएको छ।

छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यही औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो। यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताए।

उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ। सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ११ : ४९ बजे