९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

न्यानो कपडा नहुँदा दुई सय बालबालिकाले छाडे विद्यालय



महोत्तरी । मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् ।

मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन्।

यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी ९मुसहर बस्ने० टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन्।

स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन्।

स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताइन्।

जाडो महिना सुरू भएदेखि नै उनीहरू विद्यालय नगएको सोही ठाउँकी ६५ वर्षीया महिला बासोदेवी सदाले बताइन्।

खर, पराल र पात पतिङ्गर सोहोरेर जेनतेन खाना पकाएर खाइरहेका मुसहरलाई जाडोको महिना निक्कै कष्टकर हुने गरेको भन्दै स्थानीय ७२ वर्षीया कोशिलादेवी सदाले घर बाहिर गएमा स्वास्थ्य बिग्रने डरले बालिबालिकालाई विद्यालय जानबाट रोकेको पीडा सुनाइन्।

चाँडैतिर झिक्राझिक्री र खरपातले बनाएको घर, छाना चुहिने, शीत र ओस आउने ह्वाङ्ग र त्यसमै एक अर्कासँग टाँसिएर बसेका मुसहरका बालबालिका जाडो छल्नकै लागि विद्यालय नगएका हुन् ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ९ : ३४ बजे