१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन: उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

आज शनिबार ‘बलिदान दिवस’का अवसरमा लहानमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मोर्चासँग तत्काल सहकार्यको समभावना नरहेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष यादवले सहिदको प्रतिमामा माल्यार्पण गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको भूमिका रहेको बताए ।

प्रतिपक्षी दलहरूले समाजवादी मोर्चालाई सशक्त बनाउन लागिरहेका वेला यादवको सो भनाइ आएको हो । प्रचण्ड प्रधानमन्त्री भएका वेला उपेन्द्र मन्त्रीका रूपमा विदेश भ्रमणमा रहँदा अशोक राईको नेतृत्वमा उनको दल विभाजन भएको थियो ।

दल विभाजन हुनुको दोष उपेन्द्रले प्रचण्डलाई लगाउँदै आएका छन् । त्यसैकारण उनी तत्काल समाजवादी मोर्चामा सहभागी हुन नचाहेका हुन् । मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद सिरहाका रमेश महतोको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : २४ बजे