२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

चन्द्रागिरि नगरपालिकामा बिद्यार्थीसँग मेयर कार्यक्रम सम्पन्न, यी हुन् विद्यार्थीका रोचक र घोचक प्रश्नहरु



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले विद्यार्थीसँग मेयर कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र दिप एड मिडिया सर्भिसको संयुक्त आयोजना सम्पन्न भएको उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्याहरु पहिचान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो । नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा नगरप्रमुख, उप-प्रमुख,शिक्षा बिभागका निर्देशक, शाखा अधिकृत, कार्यपालिका सदस्य, वडा अध्यक्ष, शिक्षक, बिद्यार्थी, अभिभावक र अन्य सहभागी गरि १ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । नगरपालिका भित्र रहेको २४ सामुदायिक र ८० संस्थागत बिद्यालयका झण्डै साढे ३५ हजार बिद्यार्थीको प्रतिनिधित्व गर्दै आएको ७० भन्दा बिद्यार्थीहरुले नगरप्रमुख घनश्याम गिरि समक्ष आफुले भोगेका समस्यादेखी जनजिविकाको सवालमा प्रश्न गरेका थिए ।


कार्यक्रममा सहभागी विद्यार्थीहरुले आकाशे पुल निमाण नहुँदा बाटो काट्न समस्या भएको, विषयगत शिक्षकको अभावमा अध्ययनमा समस्या भएको, खेलकुदका सामाग्री नहुँदा विद्यार्थिको वृत्तविकास हुन नसकेको, शिक्षकहरु बालमैत्री नभएको, बिद्यालयको भौतिक संरचना बलियो नहँदा त्रासमा अध्ययन गर्न परेको, नगरस्तरीय खेलकुदका कार्यक्रमको सुचना समयमै बिद्यालयमा नपुग्दा प्रतियोगितामा भाग लिनबाट बन्चित भएको जस्ता गुनासाहरु नगरप्रमुख गिरि समक्ष राखेका थिए ।

त्यसैगरि विद्यालयमा छात्राहरुको लागि स्यानिटरी प्याडको ब्यवस्था हुनुपर्ने, आर्थिक अवस्था बिपन्न भएका बिद्यार्थीहरुलाई निशुल्क बसको सुबिधा हुनुपर्ने, बिद्यार्थीहरुलाई सिपमुलक तालिम दिनुपर्ने, बिद्यार्थीले पढ्दै सिक्दै कार्यक्रम लाग गर्नुपर्ने, मनोपरामर्श तथा योग कक्षा सञ्चालन हुनुपर्ने, विद्यार्थीलाई विदेश जानबाट रोक्नको लागि नगरपालिकाले बिशेष कार्यक्रममा ल्याउनुपर्ने, बिद्यालयमा सांगितिक सामाग्रीहरुको ब्यवस्थापन गर्नुपर्ने, विद्यालयमा स्माटवोर्ड हुनुपर्ने, नगरपालिकाले आइटी क्षेत्रलाई प्राथमिकता दिनुपर्ने विषयहरु उठाएका थिए ।


छलफलमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्दै नगर प्रमुख गिरिले शिक्षा क्षेत्र नगरपालिकाको प्राथमिकतामा परेको भन्दै क्षमता अनुसार शैक्षिक क्षेत्र सुधारमा उपलब्धी हासिल गरेको दाबी गर्नुभयो । त्यस्तै उहाँले विद्यार्थीले उठाएका अधिकासं बिषयको सम्बोधन भइसकेको र केही बिषयहरु कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभयो । उहाँले नगरपालिकालाई शैक्षिक हब बनाउन प्रयास जारी भएको, आकाशेपुल निमार्ण प्रक्रिया कार्यान्वयनको चरणमा रहेको, सिपमुलक कार्यक्रमहरु सञ्चालनमा रहेको, मनोपरामर्श तथा योग कार्यक्रमको लागि प्रत्येक वडामा बजेट पुगेको र कार्यान्वयनको तयारीमा रहेको, नगरपालिको आवश्यक ठानेको सामुदायीक बिद्यालयमा बस सहायता उपलब्ध गराएको बताउनुभयो । त्यस्तै उहाँले विद्यार्थीहरु उठाएका बिषयबस्तुहरुलाई आगामी बजेटमा समावेश गर्न प्रत्यत्न गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । आफ्नो विद्यार्थीकालको स्मरण गर्दै नगरप्रमुख गिरिले आफुले बिभिन्न कठिनाई र असुबिधाकाबीच अध्ययन गरेको भन्दै अहिले उपलब्ध भएको प्रविधि र सुबिधाको भरपुर सदुपयोग गर्न बिद्यार्थीहलाई सुझाउनुभयो । लगातार ४ घण्टा सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थीले निकै रोचक र घोचक प्रश्नहरु गरेका थिए ।


कार्यक्रममा शिक्षा बिभागका निर्देशक सुजनराज खनालले कार्यक्रममाथि टिपणी गर्दै विद्यार्थीसँग मेयर कार्यक्रममा उठेका प्रश्नहरु आगामी बजेट निमार्णको लागि मार्गनिर्देशन बन्ने बताउनुभयो ।

शाखाका अधिकृत बुद्धि भट्टले नगरभित्रका शैक्षिकसंस्थाको स्थिती तथा गुणस्तरबारे जानकारी गराउनुभएको थियो ।

गाउँ – गाँउको सरकार मानिएको स्थानीय सरकार र त्यहाँका जनप्रतिनिधिका भुमिकालाई पछिल्लो पुस्ताले कसरी मुल्याकंन गरिरहहेको छ भन्ने धारणा बुझ्न, उनीहरुका समस्याहरु नगरका कार्यक्रममा समाबेश गर्न, विद्यार्थीकोे सामाजिक सहभागिता र आलोचनात्मक चेतको बिकासमा प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थीको चासो, गुनासो, प्रश्न र उत्तर सहितको कार्यक्रम बिद्यार्थीसँग मेयर थिम राखिएको उक्त टेलिभिजन कार्यक्रमलाई दिप एड मिडिया सर्भिसले उत्पादन गरेको हो । टेलिभिजन प्रस्तोता पुष्पा शर्माले सञ्चालन गरेको उक्त कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिएको थियो । नेपाल टेलिभिजनको समाचार च्यानलमा गत बुधबार ६ : ३० बजे र बिहिबार दिउँसो पुन : प्रसारण भइसकेको छ । कार्यक्रमलाई नेपाल टेलिभिजनको समाचार च्यानलको फेसबुक पेज र नेपाली इस्यू अनलाइनको युटुब च्यानलबाट पनि हेर्न सकिन्छ ।

फोटो : दिप एड मिडिया सर्भिस
क्यामरामेन : गिरिजा केसी

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  १२ : १२ बजे