१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा



गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बता्ए ।

महामन्त्री थापाले नागरिकमा सरकारले केही गरेन भन्ने भाष्य निर्माणलाई चिर्नका लागि भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताए । गलत काम गर्ने जो कोही भए पनि त्यसले सँजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सृजना हुने बताए ।
उनले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने भन्दै राम्रो कामको प्रचार गर्न आफुहरु तयार रहेको बताए । नेपाली कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको भन्दै थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचियर बस्न नसक्ने बताए ।

एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवार उसैले लिनुपर्ने उहाँले त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने बताए । कांग्रेस आत्तियो भने सिङ्गो मुलुकले त्यसको मूल्य चुकाउनु पर्ने भन्दै उहाँले पछिल्लो समयमा आम नागरिकमा देखिएको असन्तुष्टीलाई चिन्ने र चिर्ने काम पनि कांग्रेसको काँधमा आएको बताउनुभयो । देशमा ठुला दलहरुले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरणहरु जगाउन जरुरी रहेको बताए ।

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीहरुलाई आग्रह गरे । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको भन्दै उनले यस अबस्थामा थुप्रै सम्भावनाका ढोकाहरू सुरू भएको बताए । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेको भन्दै गणतन्त्र सबैको साझा भएको बताए ।

उहाँले राजावादी शक्तिहरुलाई गर्वमा हैन कर्ममा विश्वास गर्न समेत आग्रह गरे । जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्वमा भएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु डा। चन्द्रकान्त भण्डारी, डा। मिनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी, चन्द्र केसी, प्रदेश सभापति अमरसिंङ पुनलगायतका केन्द्रीय तथा प्रदेश तहका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ११ : ०१ बजे