काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार बैठकले पार्टी सङ्गठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा सङ्गठन मजबुत बनाउँदै आन्दोलन केन्द्रित गर्ने पनि निर्णय भएको बताए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाइका लागि राजनीतिक एवम् कानुनी लडाईं सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको बताए ।
‘‘आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी सङ्गठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा यही वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेका छौं । त्यसैगरी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनहरूको कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र सङ्गठनलाई अझै मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ ।,’’ अध्यक्ष लिङदेनले भन्नुभयो, ‘‘पक्राउ परेका हाम्रा पार्टीका नेताहरूलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी र राजनीतिक लडाईंलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी बनाउने समेत निर्णय भएको छ ।’’
राप्रपाले आन्दोलनसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताएको छ ।





