२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन -संविधानको रक्षाका लागि तयार रहनू



पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान रक्षाका लागि तयार बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान च्यात्ने र भत्काउने प्रयत्न भएकाले त्यसको सुरक्षाका लागि तयार भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले भने, ‘संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस् ।’

गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए ।

‘आफूलाई मन नपरेको राजनीतिक दल, नेता, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्मको विरोध गर्न पाइन्छ तर लोकतन्त्रिक र गणतन्त्रात्मक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन। च्यात्न पाइँदैन। फाल्न पाइँदैन,’ उनले भने।

गृहमन्त्री लेखकले थोरै समयमा धेरै संविधान बन्दा अस्थिरता अन्योल सिर्जना हुने बताए । अहिलेको संविधानलाई पनि संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १२ : ४० बजे