८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नयाँ शैक्षिक सत्रको नियमित कक्षा सञ्चालन गर्न महानगरको अनुरोध



कास्की । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को वैशाख ११ गते नियमित कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । आइतबार सूचना प्रकाशित गर्दै महानगरले विद्यालयहरूलाई नियमित पठन–पाठन कार्य गर्न अनुरोध गरेको छ ।

महानगरको शिक्षा महाशाखाले जारी गरेको सूचनामा शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि पठन–पाठन सुरु गर्ने उल्लेख भए तापनि, भर्ना प्रक्रिया तथा आवश्यक पूर्वाधार व्यवस्थापनमा समय लाग्ने भएकाले नियमित कक्षा ३ दिन पछि सारिएको जानकारी गराइएको छ।

“सम्बन्धित सम्पूर्ण विद्यालयहरूमा सूचनामार्फत जानकारी गराउँदै बिहीबारदेखि नियमित कक्षा सञ्चालन गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

नेपाल शिक्षक महासङ्घको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरूमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ। आन्दोलनमा सहभागी शिक्षकहरू विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ५५ बजे