२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

भारतीय मन्त्री खट्टर नेपालमा



काठमाडौँ । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार शबस्टेशन, २२०–३३ केभी बानेश्वर सबस्टेसन र २२०–१३३–३३ केभी बसन्तपुर शबस्टेशनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार शबस्टेशनमा उद्घाटन गर्नेछन् ।

आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

मङ्गलबार नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबीच दुई अन्तरदेशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत तय भएको छ ।

बुधबार खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमणमा जाने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।

विद्युतमन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ११ : ३९ बजे