२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जम्मू–कश्मीर आतङ्कवादी हमलाप्रति परराष्ट्रमन्त्री राणाबाट दुःख व्यक्त, नेपालीको पहिचान प्रयास जारी



काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले भारतको जम्मू–कश्मीरको पहलगाममा जघन्य आतङ्कवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छिन् । सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छिन् ।

परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छिन् । साथै उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

“नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ”, एक्समा उनले लेखेकी छिन् ।

परराष्ट्रमन्त्री डा देउवाले उक्त दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २७ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ११ : २७ बजे