काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेस जनसम्पर्क समितिले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए । गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए ।
सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरुले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ । उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानुन निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भूमिका खेल्नुपर्ने जानकारी दिए ।
‘‘हामीले गैरआवासीय नेपाली नागरिकता त वितरण गरिरहेका छौँ । तर हामीले गैरआवासीय नागरिकता वितरण गरिसकेपछि त्यो नागकिरता नागरिकता जस्तैको अनुभव गर्न पाउनुभएको छैन साथीहरुले । मैले बुझेको । हुन त पाइसक्नुभएका साथीहरुले कस्तो अनुभव गर्नुभएको छ आफ्नो ठाउँमा होला ।,’’ उनले भने, ‘‘तर मैले बुझ्दै गर्दा अनुभव गर्दाखेरी जसले गैरआवासीय नागरिकता लिइसक्नुभएको छ उनीहरुले त्यसको खासै अनुभव गर्न पाउनुभएको छैन व्यवहारमा । किनभने उदाहारणका लागि गैरआवासीय नागरिकता लिनु हुन्छ अनि यहाँ एउटा टुक्रा जग्गा लिनुपर्यो भने त्यो नागरिकताले काम गर्दैन, त्यसमा परराष्ट्र मन्त्रालय जाउ, भूमिसुधार मन्त्रालय जाउ भन्छ ।’’
उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानुन निर्माण गर्न आवश्यक रहेको बताए ।





