१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

अनियमितता ठहर भए राजनीतिमा देखा पर्दैन- गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले काम, कर्तव्य र दायित्व बहनको क्रममा आफूबाट कुनै किसिमको अनियमितता भए वा गरेको ठहर भएमा आफू राजनीतिमा नै देखा नपर्ने बताएका छन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाले जनकपुरधाममा आयोजना गरेको कार्यकर्ता अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताए ।

गृहमन्त्रालय मातहतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारी आर्थिक अनियमिततामा संलग्न रहेको सन्दर्भलाई इंगित गर्दै मन्त्री लेखकले अनियमिततामा आफ्नो कुनै सहभागिता नरहेको बताए ।

कार्यक्रममा मन्त्री लेखकले सर्वसाधारण सेवाग्राही जनताको सेवा प्रवाहमा कुनै किसिमको ढिलासुस्ती, र आनाकानी नगरी छिटो छरितो तरिकाले चुस्तरुपमा सेवा प्रवाह गर्न गराउन सरोकारवाला निकायहरुलाई निर्देशन दिएको उल्लेख गरे ।

उहाँले नेपाली काँग्रेस विचार र सिद्धान्तपरक राजनीतिबाट जनताको मनमा बसेकोले अन्य राजनैतिक दलको जस्तो हिंसा, अशान्ति र अनुशासनहीनतामा नलागेर संगठनलाई अझ सुदृढ पार्न आग्रह गरेका छन् ।

यसै बीचगृह मन्त्रालयले कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराए ।

”विगत केही दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रियाप्रतिक्रिया प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ। यस्ता कुनैपनि गैरकानूनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं। साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सवैमा अनुरोध गर्दछौं। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १० : १८ बजे