काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँच दिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् । जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिँदै ती भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेका जानकारी दिए ।
मन्त्री डा राणाले भने “यस भ्रमणका क्रममा नेपाल जापान सम्बन्धका विविध विषयहरुका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरुका बारेमा कुराकानी भयो । त्यस्तै सम्मेलनमा ज्येष्ठ नागरिकहरुका सम्बन्धमा अन्य देशहरुले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरुका बारेमा पनि जान्ने मौका मिल्यो ।”
परराष्ट्रमन्त्री डा राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । त्यस भेटका अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए।
त्यसैगरी मन्त्री डा राणाले यही जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेका थिए । सो भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरुका बारेमा कुराकानी गरेका थिए ।





