७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माईखोलाको बाढी बस्तीमा पस्यो, सुगाबथानका २२ घर डुबानमा



भद्रपुर । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गएराति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईंका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।

“माईखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो”, अध्यक्ष चाम्लागाईंले भने, “यदि, ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ ।”

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शनिबार  ११ : ३५ बजे