उर्लाबारी । आइतबार राति आएको हावाहुरीका कारण मोरङको लेटाङ र उर्लाबारी क्षेत्रको जनजीवन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीकाअनुसार कानेपोखरी–लेटाङ सडकमा हावाहुरीले लडेका रुख सवडिभिजन वन कार्यालय लेटाङका प्राविधिक कर्मचारी र प्रहरीको सहयोगमा हटाइएको छ ।
राति ठाउँ–ठाउँमा ढलेका रुखका कारण सडक अबरुद्ध भएको थियो । हावाहुरीले किसान र साना उद्यमीको ब्यावसायस्लाई पनि असर गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम सुरु गर्नुभएका देवीप्रसाद सापकोटाको जाँतेली ममि च्याउ उद्योगका टहराहरू हावाले उडाएको छ ।
सापकोटाका अनुसार च्याउ उद्योगको टिनको छाना उडाउँदा करिब २५ सय पोका च्याउ नष्ट भएको छ । अन्य संरचनामा पनि क्षति पुगेको छ । सापकोटाले १५ लाख रुपियाँ बरावरको क्षति भएको दाबी गर्नुभयो । जाँते क्षेत्रमा हावाहुरीले सुपारी र केराका बोट ढलाएको स्थानीय डम्बर जाँतेलीले बताउनुभयो ।
त्यस्तै, हावाहुरीले विजुलीका पोल ढाल्दा लेटाङमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । विद्युत कार्यालय लेटाङका प्रमुख गोपाल पराजुलीका अनुसार बेलचौरीमा चारवटा, किराँत चोकमा एउटा, कमलपुरमा चार वटा र खेरुवामा एउटा हाइटेन्सन विद्युत प्रशारण लाइन ढलेको छ ।





