काठमाडौँ । कोरोना भाइरसको महामारी भारतमा तीव्र गतिमा फैलिइरहेको छ ।
छिमेकी राष्ट्रहरुमा तीव्र रुपले कोरोना फैलिइरहँदा नेपालमा भने एक जना पनि संक्रमित नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अहिलेसम्म एक जनामा पनि संक्रमण नभएको बताए ।
पीसीआर परीक्षण गरेर अहिलेसम्म कसैमा पनि कोरोना नभेटिएको उनले बताए ।फैलन सक्ने संक्रमण रोक्न गरिएका तयारीका बारेमा उनले भारतीय सीमा क्षेत्रमा कडाइ गरिएको बताए ।त्यसैगरी अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको जानकारी दिए ।
कोरोनाका संक्रमित कोही पनि नभएको दाबी स्वास्थ्य मन्त्रालयले गरिरहे पनि अहिले कोरोनाका लक्षण लिएर अस्पताल पुग्नेको भीड बढेको विशेषज्ञ चिकित्सकहरु बताउँछन् ।
विशेषगरी लामो समयसम्म रुघाखोकी निको नहुने, ज्वरो आउने, शरीर दुख्ने लगायतका समस्या लिएर बिरामीहरु चिकित्सकलाई देखाउन पुग्ने गरेका छन् ।डा बुढाथोकीले कोभिड प्रोटोकललाई सबैले फेरि अपनाउन आग्रह गरेका छन् ।
भारतमा चार दिनमा ३१ जनाको मृत्यु
खुला सीमा भएको छिमेकी भारतमा कोरोना तीव्र रुपले बढेको छ । हालसम्म कोरोनाबाट भारतमा ३८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो ४ दिनमा ३१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
सक्रिय संक्रमितको संख्या चार हजार २६ पुगिसकेको छ । यसमध्ये ५० प्रतिशत मामला केरल र महाराष्ट्रमा रहेका छन् ।
केरलमा १ हजार ४१६ तथा महाराष्ट्रमा ४९४ जना रहेका छन् । अहिलेसम्म भारतमा २ हजार ७०० लाई निको भइसकेको छ । कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलने र क्षति पनि बढी गर्ने खालको भएको रहेको चिकित्सकले बताइरहेका छन् ।





