७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बिरामीको आकर्षण बन्दै आयुर्वेद अस्पताल



पोखरा । पछिल्ला दिनमा गण्डकी आयुर्वेद अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको छ । पर्वत निवासी ६६ वर्षीय उमाशङ्कर उपाध्याय ९नाम परिवर्तन० २० वर्षदेखि जीर्ण घाउबाट पीडित हुनुहुन्छ । उनको घाउ विगत लामो समयदेखि कहिले निको हुने कहिले आफैँ बल्झिने गर्दछ । घाउमा थप सुधार ल्याउन आवश्यक जलौका अर्थात् जुकाको टोकाइबाट गरिने उपचार तथा अन्य आयुर्वेद उपचार सेवाका लागि उहाँ गण्डकी आयुर्वेद अस्पताल आउने गर्छन् । उनी विगत पाँचरछ दिनबाट उपचाररत हुनुहुन्छ । घाउमा सुधार भइरहेको र छिट्टै निको हुने कुरामा उनी विश्वस्त हुनुहुन्छ ।

त्यस्तै पोखरा–२६ की ५८ वर्षीय श्यामा भट्टराई आमवात रोगबाट पीडित हुनुहुन्थ्यो । उनी भन्नुहुन्छ, “मलाई आफन्तले यस अस्पतालबारे बताएपछि भर्ना भएर उपचार गराएको छु । एकदम आराम मिलेको छ ।” प्यारालाइसिसबाट पीडित ५० वर्षीय भगवती सिग्देलको हातखुटट नचल्ने, बोल्न नसक्ने, पिसाब नलीमार्फत पिसाब गराउने, आफन्त नचिन्ने समस्या लिएर उहाँका छोरा सुशील सिग्देलले यस अस्पतालमा आएर उपचार गराउँदा आफैँ पिसाब गर्न सक्ने, केही बोल्न सक्ने, आफन्त चिन्ने र आफैँ बस्न सक्ने हुनुभएको छ । सिग्देलले भने, “हामीले आमालाई सुरुमै यहाँ ल्याएको भए हुने रहेछ । अहिले आमाको स्वास्थ्यमा सुधार देख्दा मनमा हर्ष भइरहेको छ ।”

यस अस्पतालबाट उपचार गरी हाल घर फर्किएका स्याङ्जाका विष्णु पुरीले आफ्नो ढाड दुख्ने, धेरै बेर उभिन, हिँड्न नसक्ने समस्याका कारण इन्टरनेटमा भरपर्दो आयुर्वेद उपचारको खोजी गर्दा गण्डकी आयुर्वेद अस्पताल गएर उपचार गरेदेखि आफूलाई राम्रो भएको र केही समयपछि पुनः जाँच गराउन जाने बताए ।

उनीहरू त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उनीहरू जस्तै विभिन्न शारीरिक, मानसिक समस्या भएका बिरामी दिनहुँ उपचारका लागि उक्त अस्पतालमा जाने गर्छन् तर बजेट अभावका कारण अस्पतालले विभिन्न समस्या झेल्दै आएको छ । करिब चार रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पतालमा २५ शøया रहेकामा अहिले संरचना अभावले १० शय्या मात्र सञ्चालनमा रहेको अस्पताल प्रमुख डा। शङ्कर गौतमले जानकारी दिए । अस्पताललाई आवश्यक पर्ने संरचना अनुसार भौतिक पूर्वाधार, स्रोतसाधन र कर्मचारी अभाव रहेकाले महिला र पुरुषको उपचार कक्ष अलग अलग नहुँदा एकै ठाउँमा उपचार गराउन समस्या भइरहेको उनी बताउन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  १२ : ५५ बजे