५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने



दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोटलाई पर्यटकीय ग्राम बनाइने भएको छ ।

पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको मानुङकोटलाई व्यवस्थित बनाउने उद्देश्यसहित नगरपालिकाले पर्यटकीय ग्राम बनाउन लागेको हो ।

मानुङकोटको आकर्षणलाई व्यवस्थित गर्न एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

मानुङकोटको मौलिक चरित्रलाई यथावत् राखी आधुनिक ढंगबाट विकासको अभियान सञ्चालनका लागि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सम्बन्धित जग्गाधनी र नगर विकास कोषसँग सहकार्य गरिने न्यौपानेले बताए ।

न्यौपानेले भने, “मानुङका मगर समुदायले जग्गा छोड्दै जाने र बाहिरबाट आएर जग्गा किने क्रम बढ्दै गइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै मानहुँका जग्गाहरूलाई व्यवस्थापन गर्न खोजेका हौँ ।”

नगरपालिकाले मानुङकोटसँगै व्यास नगरपालिका–६ स्थित शिशाघाट नयाँ सहर आयोजनामा एकीकृत जग्गा विकास आयोजना विस्तार गर्ने लक्ष्य लिएको छ ।

मानुङकोट पछिल्लो समय दृश्यावलोकन केन्द्रको रूपमा विकास भइरहेको छ । यहाँबाट देखिने सूर्योदय र कुहिरोको दृश्यले पर्यटकलाइै लोभ्याउने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठको भनाइ छ ।

राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेको होटेल व्यवसायी चूडामणि दाहालले बताए ।

मानुङकोटमा पर्यटक आउनेक्रम बढेपछि यहाँ होटेल खुल्नेक्रम बढेको छ । रासस

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ४३ बजे