मकवानपुर । बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्रालयले यस आर्थिक बर्ष २०८२र८३ मा कृषकहरुको व्यवसायिक बिकास र प्रवर्द्धन गर्ने उदेश्यले व्यवसायिक कृषक लक्षित कार्यक्रमहरु ल्याएको छ ।
जसअन्तर्गत प्रदेशभरका ६ लाख कृषकमध्ये ३ लाख सुचिकृत कृषकहरुले धितोमा ५ लाखदेखि १ करोडसम्म ६ प्रतिशत ब्याजमा सहुलियत ऋण पाउन सक्नेछन् । यसैगरी कर्जा तथा निक्षेप सुरक्षण कोषको साझेदारीमा बिना धितो १ लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पाउने बागमती प्रदेशका कृषि तथा पशुपंक्षि बिकास मन्त्री प्रकाश श्रेष्ठले बताए ।
यो कार्यक्रमले विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै व्यवसायिक कृषि गर्न उत्प्रेरित गर्नुका साथै उनीहरुको क्षमताको बिकास र पुंजि लगानीको स्रोत व्यवस्थापनको लागि महत्वपूर्ण हुने उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठका अनुसार बागमती प्रदेश क्षेत्रभित्र कृषि उपजहरुलाई प्राङ्गारिक मलको प्रयोगबाट व्यवस्थित रुपमा उत्पादन तथा बजारीकरण गर्नुका साथै उपभोक्तासम्म पुर्याउने उदेश्यले बहुवर्षिय योजनाअन्तर्गत दामन, नुवाकोट, मकवानपुर गढीको सामरी क्षेत्र, धादिङ्गको धुनिबेशी र काठमाण्डौको दक्षिणकालीमा स्मार्ट फार्म संचालन गर्न बजेट व्यवस्थापन गरिएको छ ।
मन्त्रालयले यसै आर्थिक बर्षमा कृषि ज्ञानरत्न नवप्रवर्धन कार्यक्रम अन्तर्गत ब्याचलर, स्नातोकर, एमफिल सिध्याई पिएचडको तयारी गरिरहेका युवाहरुको लागिसमेत क्रमश ८ लाख, १० लाख र २२ लाख रुपैयाँ बजेटको व्यवस्था गरी कार्यक्रममा आबद्ध हुन आव्हान गर्ने तयारी गरेको छ ।
बागमती प्रदेशभरिका १३ जिल्लामा कुन जिल्लामा के बालीको सम्भावना छ अध्ययन गरी बिशेष रैथाने बाली घोषणा गरी उत्पादन तथा प्रवर्द्धन गर्ने तयारीका साथ बजेट व्यवस्थापन गरिएको मन्त्री श्रेष्ठले बताए ।
यसै आर्थिक बर्षमा प्रदेश सरकारले किबी, गोलभेडा, सागबाट गुन्द्रुक जस्ता प्रशोधन उद्योग संचालन गर्ने लक्ष्य लिइएको छ भने एक पालिका एक प्रबिधि मैत्री सुचना संचारमा आधारित कृषि बजार केन्द्र स्थापना गर्ने भनेर नौ पालिका छनौट गरिएको छ ।
जसमा प्याकेजको रुपमा कृषि एम्बुलेन्स, बिषादी प्रयोगशाला ल्याब, कोल च्याम्बर र तीन देखि पाँच कृषि संकलन तथा बितरण केन्द्र निर्माण गर्ने लक्ष्य रहेको छ । जसबाट पालिकाहरुले आफ्ना उत्पादन भएका बस्तुहरु संकलन र बितरण गर्नेछन् भने सोही उत्पादनको आधारमा कृषि अनुदान दिने नीति लिइएको बताइएको छ ।
समग्र रुपमा प्रदेश भित्रका जग्गा बाँझो नरहोस्, माटो र भूगोल अनुसारको उत्पादन गर्ने र त्यसमा प्राङ्गारिक मल, जैविक मल गड्यौला मल प्रयोग गरी रासायनिक मललाई कम गर्दै जाने लक्ष लिइएको कृषि तथा पशुपन्क्षी बिकास मन्त्री प्रकाश श्रेष्ठले बताए ।
यस आर्थिक बर्षमा ब्यबसायीक रुपमा नै कृषी संचालन गरिरहेका कृषकहरु लक्षित कार्यक्रम धेरै भएकाले धेरै भन्दा धेरै कृषकले सरकारको अनुभुती हुने गरी लाभ लिन सक्ने मन्त्री श्रेष्ठले बताए ।





