झापा । ‘मर्निङ वाक’मा रहेका झापाको दमक नगरपालिका–१, बरगाछीका दुई महिला जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् ।
घाइते हुनेमा दमक–१ का ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनीता राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार, घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जंगलबाट आएको हात्तीसँग आइतबार ९साउन ११० बिहान उनीहरूको जम्काभेट भएको थियो । उनीहरूलाई हात्तीले सुँडले बेरेर लडाएको जनाइएको छ ।
उनीहरूको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई उपचारका निम्ति तत्काल दमक अस्पतालमा लगिएको छ । घाइतेमध्ये सुनीताको अवस्था गम्भीर रहेको बताइएको छ ।
आक्रमणपछि हात्ती जंगलतिर पसेको थियो । झापाका जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी संख्यामा रैथाने हात्ती बस्दै आएका छन् । जंगलछेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न, घाँसदाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।
एक वर्षमा ६ जनाको मृत्यु
आर्थिक वर्ष २०८१र८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, उक्त अवधिमा हात्तीको आक्रमणबाट सातजना घाइते भएका थिए । चार हात्ती मृत भेटिएका थिए । रासस





