१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

स्वास्थ्यमन्त्रीको गुनासो– मन्त्रिपरिषद्ले जनशक्ति स्वीकृति दिँदैन, डाक्टर रमाना बुझ्दैनन्



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृति नपाएका कारण यो क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र परेको बताएका छन् । मंगलबार ९साउन १३० काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू मन्त्री भएपछि तीनपटक जनशक्ति थप्ने प्रस्ताव अगाडि बढाए पनि मन्त्रिपरिषद्‌बाट स्वीकृत नभएको गुनासो गरेका हुन् ।

देशभरका संघीय अस्पतालको जनशक्ति जम्मा २६ सयजना मात्र रहेको उनले उल्लेख गरे । उपत्यकाबाहिरका अस्पतालमा एकतिहाइ जनशक्ति पनि नरहेको उनले बताए ।

०४८ सालदेखि स्वास्थ्य मन्त्रालयमा दरबन्दीको ओएनएम ९अर्गनाइजेसन एन्ड म्यानेजमेन्ट० नै नभएको उनले गुनासो गरे । गत वर्ष मन्त्रालयले देशभरिका स्वास्थ्य संस्थामा सर्वेक्षण गर्दा ९० हजार जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको थियो ।

ओएनएम सर्वेक्षणानुसार, ६० हजार जनशक्ति स्थानीय तहका अस्पतालका निम्ति आवश्यक छ । १५ हजार संघीय र १५ हजार प्रदेश अस्पतालको निम्ति आवश्यक रहेको औँल्याइएको छ ।

चालु आर्थिक वर्षमा ३० हजार जनशक्ति पूरा गर्ने उद्देश्यले मन्त्रालयले ओएनएम प्रस्ताव गरेको थियो । तर, मन्त्रिपरिषद्‌बाट ओएनएम नै स्वीकृत नभएको उनको गुनासो छ ।

मन्त्री पौडेलले चिकित्सकहरू सरुवा गरेको ठाउँमा जान नमान्ने र उनीहरूलाई कारबाही गर्न सक्ने अवस्था समेत नरहेको बताए । मन्त्रालयको मापदण्ड नै लागु नहुने अवस्था रहेको उनले उल्लेख गरे ।

देशभरका अस्पतालमा पर्याप्त जनशक्ति भए मात्र कुनै प्राकृतिक प्रकोप वा दुर्घटनामा तत्काल सेवा दिन सकिने उनले स्पष्ट पारे । काठमाडौं उपत्यकाभित्रकै अस्पतालमा समेत जनशक्ति र क्षमता बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १ : ५० बजे