१४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026

संविधानवाद भित्रैबाट समाधान खोज्न सभामुख घिमिरे र अध्यक्ष दाहालको अपिल  



काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले संवैधानिक प्रक्रियाबाटै देशलाई निकास दिन सकिने भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जानु नहुने बताएका छन् ।

सभामुख घिमिरे र अध्यक्ष दाहालले आज एक संयुक्त वक्तव्य जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका हुन् ।

उनीहरूले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरे ।

भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले स्तब्ध बनाएको, संघीय संसद् भवन, संघीय संसद् सचिवालयलगायतका सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवं सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्ताबेजहरू नष्ट हुनेगरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको वक्तव्यमा भनिएको छ ।

संघीय संसद् भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपुरणीय क्षति भएको प्रतिनिधि सभाका सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ३ : ५५ बजे