१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

जेनजीका माग अबको ६ वर्षपछि मात्रै पूरा हुन्छन् : राजेन्द्र पाण्डे



काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जेनजीका माग अबको ६ वर्षपछि मात्रै पूरा हुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि बाहिरिने क्रममा उनले संसद् विघटन नभएको भए अहिलेकै संसद्‌बाट संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्न सकिने भए पनि अहिले त्यो अवस्था नरहेको बताए ।

अब निर्वाचित हुने सांसदहरूले पनि आफ्नो कार्यकालको अन्तिमतिर मात्रै संविधान संशोधन गर्ने र जेनजीका माग अबको ६ वर्षपछि मात्रै पूरा हुने अवस्था आउने उनको भनाइ छ ।

नेता पाण्डेले वर्तमान सरकारका मन्त्री आगामी फागुन २१ मा निर्वाचन गराउनेतर्फ भन्दा राजनीतिक दलहरूसँग मुठभेड गराउनेतर्फ उद्यत रहेको आरोप लगाए । अन्तरिम सरकारका मन्त्रीहरूले निर्वाचन नगराउने किसिमका मन्तव्यहरू दिँदै हिँडिरहेको उनले बताए ।

“अब जेनजीको माग ६ वर्षपछि मात्र पूरा हुन्छ । डिरेल भएको संवैधानिक अवस्थालाई लिकमा ल्याउने निर्वाचनले नै हो । जनताको ताजा जनादेश नै हो । अहिले चुनावको वातावरण छैन । सरकारका मन्त्रीहरू नै चुनाव नगर्ने नगर्ने टाइपका भाषणहरू गरिरहेका छन्,” उनले भने ।

उनले निर्वाचनको बारेमा राजनीतिक दलहरूलाई बोलाएर सिंहदरबारमा छलफल गर्नुपर्नेमा शीतल निवासमा बोलाउनु नै गलत भएको बताए ।

आठ हजार कैदीबन्दी फरार रहेको, एक हजार २०० बढी हातहतियार लुटिएको, ९८ हजार गोली हराएको अवस्थामा आगामी निर्वाचन निष्पक्ष हुन नसक्ने उनको जिकिर छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : ४२ बजे