१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

केन्द्रीय कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरिएको छ ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै पुस १६ गते वडा अधिवेशन, गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताए ।

त्यसैगरी एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ । प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यतालिका छ ।

त्यसअगाडि, क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमितिको बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नावमाली र रकम केन्द्रमा पठाउने समय मंसिर २५ गतेभित्र तोकिएको छ ।

पुस ८ गतेभित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि पनि कुनै सदस्यले नवीकरण गर्न आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरुको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधि राखिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : ०८ बजे