काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानव अधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो आग्रह गरेका हुन् । उनले लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्र सुदृढ भए मात्रै मानव अधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए ।
वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
साथसाथै, नेपाल मानव अधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषय कार्यान्वयनप्रति प्रतिबद्ध रहेको बताउँदै गृहमन्त्री अर्यालले अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिबद्धता पूरा गर्नेगरी मानव अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । संक्रमणकालीन न्याय प्रक्रिया ९टीआरसी० लाई निष्कर्षमा पुर्याई सबै नागरिकको मानव अधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ ।
उनले भने, “लोकतन्त्र र मानव अधिकार एकअर्काका परिपूरक हुन् । लोकतन्त्रको सुदृढीकरणमा मानव अधिकारको र मानव अधिकार प्राप्तिमा लोकतन्त्रको महत्त्वपूर्ण भूमिका हुने कुरा जगजाहेर नै छ । अहिलेको अवस्थामा लोकतन्त्र कमजोर भई मानव अधिकार प्राप्तिमा केही समस्या हुन नदिन हामी सचेत छौँ । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौं ।”
गृहमन्त्री अर्यालले मानवअधिकार कुनैपनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड भएको बताउँदै नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको पनि बताए । न





