काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि आधा दर्जनभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएपछि पार्टीभित्र र सामाजिक सजांलमा चर्चा चुलिएको छ। पार्टी संगठन सुदृढीकरण, युवामैत्री राजनीति र स्पष्ट वैचारिक अडानका कारण पहिचान बनाएका थापा यसपटक तेह्रथुमबाट एकल नाममा सिफारिस भएका छन्।
नेपाली कांग्रेस तेह्रथुमका जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो। तेह्रथुममा प्रतिनिधिसभाको एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ। महामन्त्री थापा यसअघि काठमाडौं–४ बाट लगातार चुनाव लड्दै आएका नेता हुन्। तर यसपटक उनको लोकप्रियता र पार्टी,संगठन र बैचारिक प्रभावका कारण काठमाडौं मात्र नभई रोल्पा, धनकुटा, सर्लाही लगायतका जिल्लाबाट समेत प्रतिनिधिसभा उम्मेदवारका रूपमा नाम सिफारिस भएको छ। यसले उनलाई कांग्रेसभित्र ‘क्रस–रिजनल’ नेता अर्थात् देशभर स्वीकार्यता पाएका नेताको रूपमा स्थापित गरेको छ।
गगन थापा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत रहँदा नेविसंघको नेतृत्व गर्दै निरंकुश शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका खेलेका थापा २०६२र६३ को जनआन्दोलनका एक चर्चित युवा अनुहार थिए। पछि निरन्तर संसदमा रहेर स्वास्थ्य, शिक्षा, सुशासन र लोकतान्त्रिक मूल्यका विषयमा स्पष्ट र निर्भीक आवाज उठाउँदै आएका छन्। स्वास्थ्य मन्त्री हुँदा उनले निःशुल्क औषधि, स्वास्थ्य बीमा र आधारभूत स्वास्थ्य सेवामा सुधारका कार्यक्रम अघि सारेका थिए।
पार्टीभित्र सुधार, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणको पक्षमा खुलेर बोल्ने नेताका रूपमा चिनिएका थापा आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट उमेद्वार बन्ने बताइसकेका छन् । आधा दर्जन निर्वाचन क्षेत्रबाट आएको सिफारिसले उनी कांग्रेसका मात्र होइन, राष्ट्रिय राजनीतिका प्रभावशाली र भरोसायोग्य नेताको रूपमा उभिएको संकेत गरेको छ।
पार्टीभित्र गगन थापा सुधारवादी नेताका रूपमा चिनिन्छन्। आन्तरिक लोकतन्त्र, पारदर्शिता, योग्यता र पुस्तान्तरणको पक्षमा उनी निरन्तर आवाज उठाउँदै आएका छन्। पुरानो गुटगत राजनीतिबाट कांग्रेसलाई मुक्त गर्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको अडानले उनलाई युवा पुस्तामाझ झन् लोकप्रिय बनाएको छ, यद्यपि यही अडानका कारण पार्टीभित्रकै केही शक्तिकेन्द्रसँग उनको टकराव पनि हुँदै आएको छ। बेरोजगारी, अवसरको अभाव, सुशासनको कमी र पुरानो राजनीतिक शैलीप्रति असन्तुष्ट बनेको जेन्जी पुस्ता सडक, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा सक्रिय हुन थालेपछि थापाले उनीहरूका मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने प्रयास गरेका छन्।
संगठनभित्रको भरोसा र विभिन्न भूगोलको समर्थनले गगन थापालाई कांग्रेसको वर्तमान मात्र होइन, सम्भावित भविष्यको नेतृत्वका रूपमा स्वीकार्न थालिएको छ ।
२९ मंसिर २०८२, सोमबार
70
Shares





