१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

पाँच महिनामा चार खर्ब राजस्व संकलन, घरजग्गा र सेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन



काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पाँच महीनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो ।
यो लक्ष्यको तुलनामा ७८।७४ प्रतिशत हो । यो गत वर्षको सोही अवधिको तुलनामा राजस्व १।६८ प्रतिशतले वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजस्व गत वर्षभन्दा सकारात्मक उठेको जानकारी दिए ।
उनका अनुसार राजस्को चारवटा क्षेत्रअन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजस्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर, आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ ।
नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उनको भनाइ छ ।
उनका अनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो । घरजग्गाका कारोबार शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिए ।

सहसचिव पाण्डेयले भने, “हाम्रो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म राजश्वको अवस्था हेर्दा करिब ४०९ अर्बको राजस्व संकलन भएको छ । लक्ष्यअनुसार राजस्वको प्रगति हुन सकेको छैन । लक्ष्यअनुसारको प्रगति करिब ७८ प्रतिशत छ ।

गत वर्षको तुलनामा भने १।६ प्रतिशतको ग्रोथमा छौं । जुन यस्तो प्रतिकुल परिस्थितिमा पनि राजस्व गत वर्ष भन्दा सकारात्मक उठिरहेको छ ।

लक्ष्यअनुसार राजस्व उठाउनका लागि अर्थ मन्त्रालय र मातहतका विभाग, कार्यालयहरु लागिरहेका छन् । आगामी असार मसान्तसम्म पुग्दा लक्ष्यअनुसार राजश्व असुल हुन्छ ।

राजस्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ ।

आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ ।

नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्यो र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आएको देखिन्छ ।

अर्कोतर्फ पुँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । जस्तै घरजग्गाका कारोबारहरु शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा केही कम छ ।”

घरजग्गाका कित्ताकाट खुलिसकेको र सेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजस्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । अर्थ मन्त्रालयकाअनुसार आसन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजस्व वृद्धिमा सहयोग पुर्‍याउने र लक्ष्य भेट्नेछ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ५४ बजे