१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

प्रतिनिधि स्वयंले नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन सक्छन् -कानुनविद्



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविद्हरुसँग परामर्श गरेका छन् । कानुनविद्ले प्रतिनिधि स्वयंले नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन सक्ने तर्क गरेका छन् । ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन गर्न सक्ने उनीहरूले जिकिर गरेका हुन् ।

शनिबार (पुस १८) काठमाडौंमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनविद्सँग गरेको परामर्शमा उनीहरूले पार्टी विधानको व्यवस्थाबारे व्याख्या गरे ।

“केन्द्रीय कार्यसमितिले बोलाएन भने विशेष महाधिवेशन बोलाउने दुईवटा विधि छन् । एक, केन्द्रको तर्फबाट केन्द्रीय कार्यालय अर्थात् महामन्त्रीले बोलाउन सक्छन् । दोस्रो, विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरू स्वयंले नै बोलाउन सक्छन्,” कानुनविद्ले भने ।

कानुनविद्ले अगाडि भने, “विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले भनेको केन्द्रले आवश्यक नठाने पनि महाधिवेशन प्रतिनिधिले स्वयंले विशेष महाधिवेशन बोलाउन सक्छन् ।”

त्यस्तो महाधिवेशनको ५१ प्रतिशतले गरेको निर्णय गणपूरक र वैधानिक हुने उनीहरूले तर्क गरे । “दोस्रो अवस्थामा विशेष महाधिवेशनमा सहभागी हुनेरनहुने महामन्त्रीलगायत केन्द्रका पदाधिकारीको राजनीतिक निर्णय हो,” कानुनविद्ले भने ।

कानुनविद्सँग महामन्त्रीद्वयले ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी छ भन्नेमा आफूहरू स्पष्ट रहेको बताए । आफूहरूले विधान र कानुनबमोजिम जिम्मेवारी पूरा गर्ने उनीहरूले सुनाए ।

“अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौँ, अन्तिमम्म लाग्नेछौँ,” महामन्त्रीले भने, “केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन, विधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पुरा गर्नुपर्छ, गर्नेछौँ ।”

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ९ : १२ बजे