काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन अपिल गरेका हुन् । पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनितिक रूपमा समेत अपरिहार्य र बाध्यकारी रहेको भन्दै विशेष महाधिवेशनलाई सहभागी हुन अपिल गरेका छन् ।
महामन्त्रीहरूले जारी गरेको संयुक्त वक्तव्यमा भने महाधिवेशन प्रतिनिधिहरूको अधिकार कसैले हरण गर्न नसक्ने भन्दै आफूहरूले त्यसलाई समर्थन गर्ने उल्लेख छ । महाधिवेशनका प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागिता जनाउन आह्वान गरिएको उक्त वक्तव्यमा विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन गर्नु बधानिक र नैतिक दायित्व भएको उल्लेख छ ।
“महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ । पुस २८ भित्र विशेष महाधिवेशन गर्नको लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो,” महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, “पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनितिक रूपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ ।”
विशेष महाधिवेशन नबोलाउन्ु गैरजिम्मेवारी भएको भन्दै उक्त जिम्मेवारी आफूहरूले पूरा गर्ने उल्लेख छ । “विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानूनको समेत विपरीत हो,” वक्तव्यमा भनिएको छ, “विधान र कानुनबमोजिम गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो । एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो । हामीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ, गर्नेछौँ ।”
यता मुख्यसचिवले पार्टी संस्थापनको प्रतिनिधित्व गर्दै जारी गरेको विज्ञप्तिमा कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन आह्वान गर्ने अधिकार विधानले नदिएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ ।





