१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

पार्टी विभाजन नियतिको खेल- शेखर



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनलाई नियतिको खेल भनेका छन् ।

“कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भगीरथ प्रयास सफल हुन सकेन । बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु,’’ उनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी एक भएर होमिनुपर्ने मान्यता रहेको उनले उल्लेख गरेका छन् । तर, एकता जोगाउन नसकिएको उनले बताएका छन् ।

कांग्रेस विभाजन हुँदा विगतमा पनि जनताले विश्वास गरेको उनले स्मरण गरेका छन् । यसपटक पनि त्यो भरोसालाई कायम राख्ने विश्वास उनले व्यक्त गरेका छन् ।

“आममतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरि तपाईं–हामी हाम्रा सबै अग्रज नेताहरूको मार्गदर्शनबाट र सहिदहरूको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घरदैलोमा भोट माग्न जानुपर्ने भएको छ,’’ उनले भनेका छन् ।

उनले कार्यकर्तापंक्तिलाई कांग्रेसमै रहेर भविष्य निर्माणका निम्ति अपिल गरेका छन् । पार्टी विभाजन भए पनि सुधारका प्रक्रिया नरोकिने उनले बताएका छन् ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ५ : ५३ बजे