१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

अनुदार दलहहरु शैली, प्रत्यक्षतर्फ महिला उम्मेदवार १२ प्रतिशत मात्रै



काठमाडौँ ।आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि प्रमुख दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिएको पाइएन ।

कानुनी रूपमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको भए पनि समानुपातिकतर्फको आरक्षण सिटबाट मात्रै ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने गरी दलहरूले बन्द सूचि बुझाइसकेका छन् । कूल १ सय ६५ सिटका लागि हुने प्रत्यक्ष निर्वाचनका लागि ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी परेकामा महिलाको सङ्ख्या निकै कम रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई प्रत्यक्षतर्फ महिलाहरूको १२ प्रतिशत उम्मेदवारी परेको छ ।

यस पटकको प्रत्यक्ष निर्वाचनमा प्रमुख दलहरूले नै कम मात्रामा महिलालाई टिकट दिएका छन् । नेपाली काँग्रेसले ११ जना अर्थात् ६प्रतिशत महिलालाई उम्मेदवार बनाउँदा नेकपा एमालेले ८ जनालाई मात्रै प्रत्यक्ष निर्वाचनको उम्मेदवार बनाएको छ । यो गत निर्वाचनमा भन्दा कम सङ्ख्या हो । त्यस्तै नेकपाले पनि ८ जना महिलालाई उम्मेदवार बनाएको छ । रास्वपाले चाहिँ १६ जनालाई प्रत्यक्षमा उम्मेदवार बनाएको छ । त्यसै गरी राप्रपाले ९ जनालाई उम्मेदवार बनाएको छ ।

गत वर्षको निर्वाचनको तुलनामा यस वर्ष सबै दलहरूले महिलाहरूलाई चर्चित निर्वाचन क्षेत्रमा उम्मेदवार चाहेको देखिँदैन । लैङ्गिक समानताका विषयमा लामो अभियान चले । कानुनी रूपमा पनि महिलाको सहभागितालाई सम्बोधन भइसकेको छ तर राजनीतिक दलहरूले महिलालाई अवसर दिने विषय भने जहिल्यै पनि महिला माग्ने र पुरुषहरू दिनेजस्तै भएको छ । राजनीतिमा महिला सहभागिता विषयमा विद्यावारिधि अध्ययन गर्नुभएकी महिला अधिकारकर्मी शर्मिला कार्की महिलाहरू बोल्न नसक्दा दलहरूभित्र पुरुषहरूको हाबी भएको बताउनुहुन्छ । उहाँ दलभित्रका महिलाहरू आफ्ना लागि मात्रै नभई आम महिलाका लागि बोल्न डराउन नहुने बताउनुहुन्छ ।

सदियौँ देखि पछि पर्दै आएका महिलाहरूलाई राजनीतिमा सहभागी नगराई नीति निर्माण तहमा महिला प्रतिनिधित्व हुन सक्दैन । प्रतिनिधिसभा ऐन कानुन बनाउने थल भएकाले पनि महिलाका विषयलाई सम्बोधन गर्न महिलाको सहभागिता अनिवार्यजस्तै छ तर नयाँ दलहरूले समेत महिलाहरूलाई निर्वाचनमा उल्लेख्य रूपमा उम्मेदवार बनाउन तत्परता देखाउन सकेको पाइँदैन । महिला अधिकारकर्मी तथा कानुनविद् मिरा ढुङ्गानाचाहिँ महिलालाई समानुपातिकमा मात्रै सीमित गर्ने प्रवृत्ति बढेकाले कानुन नै संशोधन गरेर प्रत्यक्षमा महिला उमेद वारलाई अवसर दिन सकिने बताउनुहुन्छ ।

महिलाहरूलाई उम्मेदवार बनाउँदा जित्न सक्दैनन् भन्ने मानसिकताले महिलाहरूले अवसर नपाएको भन्दै उहाँ महिलालाई आफ्ना पार्टीमा योगदानको दाबी गर्न चुक्न नहुने बताउनुहुन्छ ।

नेपालको राजनीतिक र सामाजिक परिवर्तनका लागि भएका सङ्घर्षहरूमा महिलाको योगदान महत्त्वपूर्ण रहेको छ । समतामूलक समाज निर्माणको बाधकका रूपमा रहेको लैङ्गिक विभेदको सिकार राजनीतिमा लागेका सचेत महिलाहरू समेत भोग्न विवश छन् । सबै नीतिको मूल नीतिका रूपमा रहेको राजनीतिमा महिलालाई नेतृत्वमा नपुर्‍याई समतामुलुक समाज निर्माण हुन सक्दैन ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : १८ बजे