३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

चुनावी मैदानमा एकढिक्का भएर होमिने तयारीको लागि महामन्त्रीद्धयको परिपत्र



काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र औपचारिक रूपमा नयाँ युगको सुरुवात भएको सन्देश प्रवाह भएको छ। नयाँ केन्द्रीय कार्यसमितिले पार्टीका प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरूलाई परिपत्र जारी गर्दै चार महत्वपूर्ण एजेन्डा सार्वजनिक गरेको हो।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेद्वारा जारी परिपत्रमा विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न भएको स्पष्ट पार्दै यसलाई कुनै पनि हालतमा जय–पराजयको रूपमा नलिन आग्रह गरिएको छ। कांग्रेस अब अलमल होइन, एकता र संयमसहित अघि बढ्ने निष्कर्ष परिपत्रको मुख्य सन्देश हो।

आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिइसकेको र जित सुनिश्चित गर्न पार्टीका सबै निकायलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिइएको छ।

सबैभन्दा ठूलो राजनीतिक सन्देश—कांग्रेस सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएको छ। यो निर्णय केन्द्रीय समितिले सर्वसम्मत रूपमा गरिसकेको परिपत्रमा उल्लेख छ।

निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका सबै तहका नेताहरूले यो लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै साथ दिने विश्वास कांग्रेसले व्यक्त गरेको छ।
सन्देश स्पष्ट छ—कांग्रेस बदलिएको छ, अब देश बदल्ने दाबीका साथ चुनावी मैदानमा उत्रिँदैछ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ११ : ११ बजे