१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी



काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा निगम ऐन २०१९ को दफा ८९क० विपरीत प्रक्रिया अपनाई महाप्रबन्धक नियुक्ति गर्न खोजिएको दाबी गरिएको छ ।

उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ । निगममा कार्यरत कर्मचारीभन्दा कनिष्ठ व्यक्तिलाई महाप्रबन्धक बनाउने गरी योग्यता तोकिएको र त्यसका लागि नियमावलीसमेत परिवर्तन गरिएको दाबी उजुरीमा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छनोट समितिले महाप्रबन्धक नियुक्तिका लागि दरखास्त आह्वान गरी सूची सार्वजनिक गरेको भए पनि सो सूची नै कानुनविपरीत रहेको उजुरीमा उल्लेख छ । छनोट सूचीमा परेका व्यक्तिहरूमध्ये दुईजना निगममै कार्यरत निर्देशक तहका कर्मचारी रहेको र उनीहरूलाई कानुनविपरीत समावेश गरिएको दाबी गरिएको छ । साथै, निगममा कार्यरत कर्मचारीलाई पदावधि नटुंगिँदै राजीनामा दिन बाध्य पारेर पुनः महाप्रबन्धक पदमा नियुक्त गर्ने प्रयास भएको आरोपसमेत लगाइएको छ ।

उजुरीमा छनोट समितिको गठन र कार्यशैलीमाथि पनि प्रश्न उठाइएको छ । मन्त्रालयका सचिवको अध्यक्षतामा गठन भएको समितिले कानुनी प्रावधानको गहिरो अध्ययन नगरी प्रक्रिया अघि बढाएको र यसबाट राज्यलाई दीर्घकालीन क्षति पुग्ने उल्लेख गरिएको छ । कानुनविपरीत सूची सार्वजनिक गरिएको अवस्थामा सो प्रक्रिया तत्काल रोक्नुपर्ने माग उजुरीकर्ताले गरेका छन् ।

यस्तै, उजुरीमा विगतमा भएको आर्थिक अनुशासनहीनता, निगममा देखिएको व्यवस्थापकीय कमजोरी र कर्मचारी व्यवस्थापनमा देखिएका समस्या समेत उल्लेख गर्दै योग्य, निष्पक्ष र कानुनसम्मत प्रक्रियाबाट मात्र महाप्रबन्धक नियुक्ति हुनुपर्ने जोड दिइएको छ । अन्यथा यसले सार्वजनिक संस्थामा सुशासनको अवधारणामाथि नै प्रश्न उठाउने उजुरीकर्ताको भनाइ छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ६ : ५५ बजे