१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नमुना मतपत्र सार्वजनिक, काठमाडौँको सबैभन्दा ठुलो



काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

आयोगले सात वटै प्रदेशका क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमुनासमेत सार्वजनिक गरेको छ । नमुना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमुना तयार पारिएको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठुलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रमा सानो मतपत्र छापिएको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा तथा दैलेख र सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एउटा मात्र निर्वाचन क्षेत्र कायम छन् । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र छन् । ती सबै निर्वाचन क्षेत्रको मतपत्रको नमुना पनि आयोगले सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ भइसकेको छ ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ८ : १८ बजे