काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका छन् । उनले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउन नहुने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०ले आइतबार ९माघ १८० काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।
दलहरूले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।
“कानुनको दायरामा बसेर नाफा कमाउनेलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भाष्य अन्त्य हुनुपर्छ । उनीहरूले रोजगारी सिर्जना र राज्यलाई तिर्ने कर ठूलो हुन्छ,” पौडेलले भने, “व्यवसायीले ठूलो मिहिनेतले पुँजी निर्माण गरेको हुन्छ । पुँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।”
पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सिर्जना गर्ने खाका दलहरूका घोषणापत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणापत्रमा हुने उनको भनाइ छ ।
“हामीले घोषणापत्रमा राख्ने विषयबारे सबैको सुझाव समेट्छौँ । छलफल चलाइरहेका छौैँ,’ उनले भने, “हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।”
राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलहरू स्पष्ट हुनुपर्ने र कांग्रेसले यसलाई आत्मसात् गरेको बताए ।
“यसअघिका घोषणापत्रमा धेरै लेख्यौं । हामीले कार्यान्वयन गर्न सकेनौँ । अब भनिएका वाचा कार्यान्वयन हुने गरी एजेन्डा आउँछन् । देशका लागि १० एजेन्डा भनेर नेपाली कांग्रेसले तयारी गरेको छ । हाम्रा सबै आशय यसैमा समेट्छौँ । जनतालाई चित्त बुझ्ने गरी ल्याउँछौँ । हामी भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहन्छौँ ।”
अर्थतन्त्रलाई डिजिटलाइजेसन गरेर मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
थोरै पुँजीगत खर्चबाट देश विकास गर्न नसकिने भन्दै यसलाई बढाउन के गर्न सकिन्छ भन्ने सोचसहित आफूहरूले योजना बनाइरहेको उनको भनाइ छ । उत्पादन निजी क्षेत्र गर्ने भन्दै यसलाई खुम्च्याउन नहुने उनको भनाइ छ ।
“शिक्षा, स्वास्थ्यमा राज्यले लगानी गर्नुपर्छ । रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने निजी क्षेत्रले गर्ने हो,” पौडेलले भने, निजी क्षेत्रलाई फराकिलो बनाउनुपर्छ । प्राचीन र पुरातन कुरा गरेर केही अर्थ छैन ।”





