२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

झापा–५ मा गठबन्धनको हल्ला चलेपछि कांग्रेसले भन्यो– भ्रामक कपोलकल्पित



काठमाडौँ । नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोलकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफबाहको पछि नलाग्न अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।

पार्टीले आम मतदाताहरूलाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ६ : ५८ बजे