तनहुँ । नेपाल प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष शेष मोहम्मद हनिफ (गोरा मियाँ)को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ।
स्वर्गीय हनिफको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक इमान्दार, कर्मठ र समर्पित व्यक्तित्व गुमाएको नेपाल प्रेस युनियनले जनाएको छ। उहाँको योगदानको कदर गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समिति, प्रदेश समिति तथा शाखा समितिले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
यसैगरी, युनियनका तर्फबाट पूर्वनिर्धारित सबै कार्यक्रमहरू स्थगित गरिएको जनाइएको छ। शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
स्वर्गीय हनिफ पत्रकारिता र संगठन निर्माणमा सक्रिय रहँदै प्रेस स्वतन्त्रता र श्रमिक पत्रकारहरूको हकहितका लागि निरन्तर संघर्षरत रहनुभएको थियो।





