काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आयोगले प्रभावकारी रूपमा काम अगाडि बढाएको छ।
आयोगले तालिकाबद्ध रूपमा काम गरिरहेको र हालसम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको निर्वाचन आयुक्त डा।जानकी कुमारी तुलाधरले बताउनुभयो ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राखी नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी निर्वाचनमा खटिने उहाँले जानकारी गराउनुभयो ।
जसको लागि आयोगले नेपाल सरकार गृह मन्त्रालयसँग व्यापक छलफल गरेको समेत उहाँले बताउनुभयो ।
निर्वाचन आयुक्त डा।तुलाधरले निर्वाचनलाई स्वच्छ र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबैकालागि निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी गराउनुहुँदै १ सय ६५ वटै निर्वाचन क्षेत्र र ७७ वटै जिल्लामा आचारसंहिता अनुगमनको लागि अधिकृत खटाइएको उल्लेख गर्नुभयो ।
आचारसंहिता उलङ्घन गर्ने जो कोहीको प्रमाण सहितको उजुरी सम्बन्धित निकायमा परेमा जिल्ला देखि केन्द्र सम्मको संयन्त्रले आवश्यक स्पष्टीकरण सोध्ने तथा सम्बन्धित निकायमा पठाउने गरेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले मतदाताको नामावली सङ्ख्या हेरेर मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन गरेको जानकारी दिनुहुँदै उहाँले ज्येष्ठ नागरिक,अशक्त,बिरामीको लागि सहजीकरण हुने गरी मतदान स्थल निर्धारण गरिएको बताउनुभयो ।
सामाजिक सञ्जालबाट आउने भ्रामक सूचना नियन्त्रण तथा नियमन गर्न टिकटक,साइवर ब्युरो,मेटा लगायतसँग सम्बन्धित अधिकारीहरूसँग छलफल र समन्वय गरी आयोगले काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
आसन्न निर्वाचनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवलोकन कर्ताले नजिकबाट अवलोकन गर्ने जानकारी दिनुहुँदै उहाँले लोकतन्त्रको सुदृढीकरण र सुशासनको लागि निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आयुक्त डा। तुलाधरले आग्रह गर्नुभयो ।





