२३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

सरकारले रुखबाट पैसा ल्याउँदैन, स्रोत सुनिश्चित नगरी खर्च नगर्नुस् : स्वास्थ्यमन्त्री



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतमले स्रोत सुनिश्चित नगरी खर्च नगर्न स्वास्थ्य बिमा बोर्डलाई निर्देशन दिएकी छिन् ।

शुक्रबार ९माघ २३० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गौतमले स्वास्थ्य बिमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताइन् ।

चालू आवका लागि सरकारले स्वास्थ्य बिमाका लागि विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ । बिमा बोर्डले स्रोतको सुनिश्चितता नगरी कार्यक्रम सञ्चालन गर्दा वार्षिक २४ अर्ब रुपैयाँबराबरको दायित्व सिर्जना भएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरिन् ।

सरकारले रुखबाट पैसा नल्याउने र नागरिकले दुःखले कमाएर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने भएकाले बजेटको परिधिभित्र रहेर खर्च गर्नुपर्ने उनको भनाइ छ । स्रोत सुनिश्चित नभई जति मन लाग्यो त्यति सेवा दिँदै जाँदा प्रणालीमा समस्या आएको पनि उनले बताइन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : १८ बजे