२७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

सेनालाई प्रधानमन्त्री कार्कीको कडा निर्देशन– सुरक्षामा कत्ति पनि चुक हुन नदिनू



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।

आइतबार ९माघ २७० जंगी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

फागुन २१ गते तोकिएको निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आगामी चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा काम गर्न पनि उनले निर्देशन दिइन् ।

प्रधानमन्त्री कार्कीले नेपाली सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्य सम्पादन हुनेमा आफू पूर्ण विश्वस्त रहेको पनि बताइन् ।

उनले सरकारबाट स्वीकृत “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुसार सेनालाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगबाट सम्पादन हुने विश्वास व्यक्त गरिन् ।

“जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपार्इंहरूलाई निर्देशन दिन्छु,” सम्बोधनमा कार्कीले भनिन्, “विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुस् ।”

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १ : ४५ बजे